पोखराकी सोल्टिमा, पूर्वेली सलाम छ तिम्लाई ।
अन्तुको डाँडाबाट
सुन–घाम पठा’को छु तिम्लाई
त्यही सुन–घाम सलाम !
पोखराकी सोल्टिमा, पूर्वेली सलाम छ तिम्लाई ।
तिम्रो गौरव
आँगन हो फेवाताल– पोखराको
छानो हो माछापुछ्रे– पोखराको
ए नि सोल्टिमा
यहाँ साँगुरी भन्ज्याङ कुरेरै
मान्छेहरूले थुपै्र पटक मनको फेवाताल तैरिएका छन्
यहाँ सैलुङ्गे शिखर चढेरै
मान्छेहरूले थुप्रै पटक माछापुछ्रे् अनुभूत गरेका छन्
साँच्चि सोल्टिमा
मैले ’नि गरेको छु यो अनुभूति
भन्ज्याङ बसेर
शिखर चढेर ।
त्यसैले सोल्टिमा
साँगुरी भन्ज्याङबाटै
गुराँसे–घाम पठा’को छु तिम्लाई
त्यही गुराँसे–घाम सलाम !
पोखराकी सोल्टिमा, पूर्वेली सलाम छ तिम्लाई ।
ए है सोल्टिमा !
सुन्यौ या सुनेनौ तिम्ले
वर्षाको झरी सहेर
हिउँदको हुस्से ओढेर
माथि ओलाङचुङ गोलाको लेकमा
मैले ’नि एक चरण गीत गा’को छु पोखराको
र त्यही सुन–घामसँगै
त्यही गुराँसे–घामसँगै
त्यो गीत पठा’कोछु तिम्लाई
त्यै गीत
पोखराकी सोल्टिमा, पूर्वेली सलाम छ तिम्लाई ।
ए है सोल्टिमा !
फेवाताल–गहिराइ
माछापुच्छ्रे–उचाइ
दिलभित्र विश्वास लिई सोच
त्यही गीत गाउँदै
एकपटक सँगै धान नाच्नुपर्छ ओलाङचुङ–गोलामा
एकपटक सँगै साकेवा नाच्नुपर्छ साँगुरी–भन्ज्याङमा
एकपटक सँगै रोदी नाच्नुपर्छ फेवाताल–किनारमा
एकपटक सँगै सेलो नाच्नुपर्छ माछापुछ्र्रे–फेदीमा
पोखराकी सोल्टिमा
अन्तुको डाँडाबाट
सुन–घाम पठा’को छु तिम्लाई
त्यही सुन–घाम सलाम !
पोखराकी सोल्टिमा, पूर्वेली सलाम छ तिम्लाई ।