पौरखीलाई दुई हात नै ईश्वरको वरदान हो
पुग्छु भन्ने बटुवालाई रात पनि बिहान हो
कर्म गरी खाने बानी नेपाली म स्वाभिमानी
हाम्रो उचाई सगरमाथा संसारकै सिरान हो
मोती फल्छ मोती यहाँ लहलहाउँदो हराभरा
छोएपछि हत्केलाले खेतबारी गरागरा
आफ्नोभन्दा बढी माया स्वदेशको लागेपछि
उन्नतिको शिखर पनि धेरै टाढा कहाँ छ र ?
बुद्ध हुन्छ आँखाभरि मनभरि हिमाल हुन्छ
जताजता हिँडे पनि आफूसँगै नेपाल हुन्छ
उही सुख उही दुःख पहाड हाँसे तराई हाँस्छ
मेची कतै दुख्यो भने महाकाली सँगै रुन्छ