Last modified on 25 अगस्त 2024, at 16:56

प्रस्थान / सुमन पोखरेल

अनादि चञ्चलताका किनारमा
कसले छोडेर गयो यसरी
आफ्ना पाइलाहरूको चिन्ह ?

आफैँ गयो होला त्यसरी
या बोलायो उसलाई कसैले
वा पठायो कसैले उसलाई ?

आफू उभिइरहेको डोबलाई छोडेर
कहाँ गयो होला ?
किन गयो होला ऊ
यसरी प्रश्नहरूलाई ब्यूँझाएर ?

जानेहरू किन जान्छन् यसरी
जसरी छाडेर गयो उसले
एकजोर पैतालाको अपूरो कथा ?