डढेर खरानी हुँदै
प्रेमको फिनिक्स
फेरि आफ्नै खरानीको थुप्रोबाट उठेर
संवेदनाको आकाशमा उडिरहन्छ...
त्यसको नीलो पखेटाको आवाज
मेरो ढुकढुकीमा सुने हुन्छ ।
आह ! आज फेरि पानी परिरहेको बेला
यो आदिम सडकमाथि
यौटै छातामुनि हिँडिरहेछन्
अन्त्यहीन दन्त्यकथाका युवक-युवती ।
बजारको भीडले छेक्न सकेको छैन
सपनासितै ब्युँझिएका ती आँखाहरू
तिनै आँखाको उज्यालोमा उघ्रिएका छन्
छातीभित्रका अजन्ता-एल्लोराहरू ।
प्रितीको प्राचीन नदीले
सँधै उर्वर बनाइराखेको यो संवेदनाको खेत
ओहो ! म कत्ति पो फसल उठाउन सक्छु र !
अनन्त छन् यस खेतमा
गीत र कविताका तरेलीहरू।
परीक्षाको लागि घोक्न परेका कविताका परिभाषाहरू
बिर्सिसकें जम्मै उहिले नै।
बरू सम्झनामा त्यसै आइरहन्छन् –
मुस्कानका केही घामहरू
अनि पीडाहरू, आँसुका केही थोपाहरू।
आज बिहान मैले खाजा खाँदै पढेको अखबारमा
समाचार के थियो, नसोध। सब भुलें।
बरू सुनाइदिऊँ कि केही रुबाइयत र सनेटहरू
प्रेम या विरहको ।