Last modified on 12 मई 2017, at 10:17

फरक / देवान किराती

ढुङ्गाका कापहरूवाट
रूखका टोड्काहरूवाट
सङ्लो सग्लो निस्कन्थे
आदिम कविताहरू ।

न शृङ्गार थियो
न सजावट थियो
डाह–अहङ्कार थिएन
नाङ्गै–नाङ्गै थियो,
नाङ्गै थिए र त सुन्दर थिए
प्राचीन कविताहरू
ऊ ! त्यो हिमालझैँ ।

रेफ्रिजरेटर, र्‌याक
र कम्प्युटर चेपहरूबाट
नाङ्गा–नाङ्गै निस्कन्छन्
ग्ल्यामर कविताहरू ।

बनावट छ
सजावट छ
अहङ्कार– प्लास्टिक सर्जरीहरू
अहम् कलेवर शृङ्गारहरू
तैपनि सुन्दर छैनन्
आधुनिक कविताहरू
ई ! यस्तै कविताझैँ ।