घरको भित्तामा झुण्डिएको फ्रेममा
बैँशका श्यामश्वेत तस्बिरहरू मुस्कुराइरहेकै हुनेछन्
बुइगलमा बसेर घुरिरहेकै हुनेछन् परेवाहरू
आँगनछेवैको बाँसघारिमा कलकलेको एउटा सङ्गठन
कलकल गरिरहेकै हुनेछ
तर हुने छैन त्यहाँ
सिर्फ एउटा मानिस ।
सधैको जस्तै पश्चिमतिर जानेछ घाम
फर्किनेछन् जङ्गल गएका गाइबस्तुहरू
फर्किनेछन् हँसिया, कोदालो लिएर
बारीमा गएका पर्मेलीहरू
फर्किनेछन् स्कुल वा कलेज गएका नाति नतिनाहरू
तर फर्किने छैन त्यहाँ
सिर्फ एउटा मानिस ।
सधैँ–सधै मौन बस्ने आकाश पनि
सुन्न सकिन्छ झरी परेका बेला
खोँज र पाखाहरूमाझ सुन्न सकिन्छ बरु खोला
रुखका पातहरूमाझ सुन्न सकिन्छ बरु बतास
सन्नाटाहरूमाझ सुन्न सकिन्छ बरु अँधेरी रात
तर सुनिने छैन त्यहाँ
सिर्फ एउटा मानिसको आवाज ।
त्यसरीनै
बुइगलमा बसेर घुरीरहेकै हुनेछन् परेवाहरू
बाँसघारीमा हल्ला गरिरहेकै हुनेछन् कलकलेहरू
ठिक त्यसैबेला
नातिनीको बैवाहिक उत्सव चलिरहेकै हुनेछ घरमा
लठ्ठी टेक्तै पुग्नेछौ तिमी आँगनको जग्गेमा
आर्शीबाद दिनेछौ चिरआयुको
र हठात सम्झनेछौ
आफै सङ्ग छुटीगएको
सिर्फ एउटा प्रिय मानिस ।
बिस्तारै फिर्नेछौ घरभित्र
उक्लनेछौ घरको तालामाथि
खोल्नेछौ ध्वासो लागेको टिनको बाकस
निकाल्नेछौ पुरानो डायरीमा च्यापेर राखेका प्रेमपत्रहरू
हेर्नेछौ बिहेकै साल खिचेका युगल तस्बिर
र बिस्तारै छाम्नेछौ
छातीको देबे्र पाटामा दुःखेको
सिर्फ एउटा मानिसको सम्झना ।
पश्चिमतिर गइरहेकै हुनेछ घाम
घरबाट बिदा मागिरहेको हुनेछ नातिनी
ठिक त्यसैबेला
बुढेसकालको धमीला आँखाहरू
फ्याल्नेछौ –झ्यालबाहिर
तलतल देखिनेछ खोला
बग्न थाल्नेछौ तिमी
फेरि एक्लै एक्लै ।