Last modified on 16 मार्च 2017, at 08:45

बाँकी कथा / रमेश क्षितिज


त्यो अन्त्य होइन तिमीले सोचेजस्तो
अझै नयाँ पात्रहरु फेरि देखिनेछन् रङ्गमञ्चमा
आउनेछ एउटा अर्कै नयाँ मोड
मध्यान्तरपछि– फेरि झुल्किनेछ नयाँ रङ
र तिम्रो शिरमाथि खस्नेछ प्रकाशको फोहरा
कथा अझै बाँकी छ,

निराशाको हुस्सुले छोपेको टाकुराको ठिक माथिबाट
बादलको काक्रोलाई चरक्क चिर्दै निस्कनेछ चुलेसीजस्तो सूर्य
र तिम्रो ओठमा फक्रिनेछ मृदु मुस्कानको कोपिला
फेरिनेछ आँखा हुदै बगिरहेको बर्सादी दिन
थामिनेछ गड्याङगुडुङ चट्याङहरुको जनयुद्ध
चैतको प्रचण्ड गर्मीमा बेला बेलामा सुम्सुम्याएर जाने चीसो वतासजस्तो
एउटा नयाँ चेतना बौराउनेछ वरिपरि

घर फर्केर आँगनबाट
खुशीले कराउनेछ माया मारिसकेको अपहरित बालक
गलैंचामाथि अचानक भेटिनेछ हराएँ भनेको वर्षाै पहिले
कसैले उपहारमा दिएको औठी
जीवनको अर्काे नाम हो संभावना
फेरि हुनेछन् रहस्यमय घटनाहरु
एकपछि अर्काे परिवर्तनको सिठी उक्लिदै पुग्नेछौ तिमी अर्कै नयाँ शिखर
र हेर्नेछौ प्रिय सपनाहरु फैलिरहेको क्षितिज

रहेसम्म जिन्दगानी
जुनसुकै बेला पनि भेटिनसक्नेछ देवदूतजस्तो मान्छे
बाटो विराए जङगलै जङ्गल कुदिरहदा
आफै लिन आउन सक्नेछ कुनै दयालु गोरेटो
निदमा हिडिरहेको मानिस झल्यास्स विउझँदा अर्कै दृष्य भेटेजस्तो
जिन्दगीले सृजना गर्न सक्नेछ नयाँ संसार,
गोल हुन सक्नेछ खेलको उत्तरार्धमा
जीत हुन सक्नेछ समयको अन्तिम चरणमा

पातहरु फेरि पलाउनेछन् रुखमा, फेरि आउनेछ वसन्त
फेरि हिड्नेछन् हँसिलो अनुहार भएका वटुवाहरु यो बाटो
पुनर्निर्माण हुनेछ खण्डहरु र रोपिनेछ नयाँ विरुवा
जे पनि हुन सक्नेछ, जे पनि हुन सक्नेछ !!

आशा र सपनाहरुको झण्डा उठाउदै
काँधमाथि बोकेर नयाँ विहान
उभिनेछ हाम्रो सामु हेरिरहुजस्तो कुनै क्रान्ति नायक
म भन्छु त्यो तिमी हौं !