Last modified on 7 जून 2017, at 19:57

बिर्सेँ / विद्यानाथ पोख्रेल

गत जन्मको हालत सारा जन्म लिएपछि सबै बिर्सेँ
टुक्‍ टुक् हिँड्ने बानि पर्दा बामे सर्ने कामै बिर्सेँ ।

पुस्तक च्यापी स्कूल जाँदा मातृदुग्धको स्वादै बिर्सेँ
दारी जुँगा के रेखी बसेथे आमाबाबुलाई नै बिर्सेँ
बिहा भएको थोरै दिनमा पढिसकेका आधा बिर्सेँ
घरमा एउटा पुत्र भयो, फेसन गर्ने कामै बिर्सेँ ।

मेट्रिक पास के भएथेँ गुरुजीहरूमा आदर बिर्सेँ
यौटा धोक्रे के लाएथेँ दौरासुर्वाल टोपी बिर्सेँ
सुख पाएथेँ अलिकति, दु:खीहरूको दर्दै बिर्सेँ
पैसा सकिँदा सपना नै भो’ बारी खन्ने कामै बिर्सेँ ।

घर छोराछोरी हेरेँ, सातो गयो धर्मै बिर्सेँ
ढाँट्नु ठग्नु गर्दागर्दा सारा आफ्नो कर्मै बिर्सेँ
विश्व अनित्य भन्थे किन्तु मोहपासले कालै बिर्सेँ
नूनतेलले फिटफिटी पार्यौ कविता गर्ने कामै बिर्सेँ ।