वसन्तको पहिलो बिहानमै
छपक्क छोपिएर वासन्ती लालिमाले
निस्फीक्री फुलिदिएकी छ- बेगमवेली
प्रत्येक झुल्केघाममा
उसका सप्तरङ्गी सपनाहरू
टिपिन्छन् अस्तित्वको बारीबाट
विना मलजल नै मौलाएको उसको वैँश
छरपस्ट छरिन्छ
पिपिराहरूमा यौवन भरेर
कहिले पूजामा, कहिले बैठके सज्जामा
ऊ
मौन पर्खिरहन्छे
पर क्षितिजबाट चियाइरहेको नवबर्ष
त्यो विशाल सौन्दर्यराशीमा
झ्वाम्म हामफाल्न खोजिरहेछ
ऊ
झसङ्ग हुन्छे
उसका स्निग्ध छातीमा
विषाक्त औँलाका डामहरू
उसले भोगेको इतिहास साक्षी छ,
ऊ खोसिएकी छ पटक-पटक
रूग्ण आशाहरूमा फुलिरहेकी छ ।
ऊ
मान्छेका भीडमा अपनत्व खोज्छे
पलायन हुन पनि सक्दिन
फगत् धुजा-धुजा सपनाहरूलाई
छातीभित्रै रुवाएर निस्फीक्री हाँसिदिन्छे ।
चैतेहुरी आउँछ,
ऊ पत्र-पत्र थुप्रिएकी हुन्छे
बढारिन्छे, फालिन्छे
उसको पृष्ठभूमिमा
नयाँ बोटहरू उम्रन्छन्
प्रकृतिको रहस्यभित्र ऊ, फेरि फुल्छे
उसका प्रत्येक समयहरू
सुनौला भविष्यको आश्वासन दिँदै
विक्षिप्त वर्तमान लिएर भित्रिन्छ ।
ऊ लत्रिन्छे,
मात्र फुल्नुको रहर बाध्यता बनिदिन्छ
लोभी आँखाहरूमा एक पलको खुसी हुँदै,
ऊ
टिपिँदै जान्छे, रित्तिइँदै जान्छे
थोपा नदिनेहरूले
सहस्र पिइरहन्छन् उसलाई
ऊ
निरूपाय चिच्याइरहन्छे ।
बस् !
सहरको बर्बरतामा
कहिल्यै नभरिने घाउ
दुखिरहन्छे...दुखिरहन्छे
हरेक वसन्तमा यसरी नै
फुल्नु
टिपिनु
बढारिनु
र फालिनुको नियति भोगिरहन्छे-
बेगमवेली !