Last modified on 23 जुलाई 2017, at 10:48

बोझ नहोस् / दिनेश अधिकारी


बोझ नहोस् मेरो माया, बाधा पनि नहोस् भन्छु
जुन दिन मनले पराई देख्छ, हाँसीखुसी छुटौँ भन्छु

माया भन्नु माया नै हो यसलाई सधैँ चोखो राखौँ
छुट्टिनु नै परे पनि सम्झनाको पोयो बाटौँ
फेरि कतै भेट होला, भेट हुँदा बोलौँ भन्छु
पहिलेजस्तै एकअर्काको, हालखबर सोधौँ भन्छु

माया गर्दै आपसमा साटेका ती म्वाइँहरू
फर्किंदैनन् मनभित्रका मीठामीठा छुवाइहरू
हिजोका ती खुसीलाई खुसी हुन दिऊँ भन्छु
जिन्दगीको यौटा मीठो कमाइमा लिऊँ भन्छु