Last modified on 29 अप्रैल 2020, at 11:08

बोलाइरहेछ / दैवज्ञराज न्यौपाने


१.
चन्द्रसूर्यको छायामनि
अनन्त उत्साह बोकेर
जब म मेरो देशको इतिहास पल्टाउँछु
एकएक घटनाक्रमले जेलिएका
यी हर्ष र विस्मातका पाना
कहिले आँसुले
र कहिले मुस्कानले पल्टाउँछु,
अनि यहाँको दश वर्षे क्रमले
मलाई कताकता बोलाएझैँ लाग्छ,
मेरै मात्र होइन देशकै प्रपञ्चमा
कहाँकहाँ लोलाएझैँ लाग्छ,
तर म पढ्दै जान्छु यहाँको दश वर्षे क्रम
जगमा छ सतहत्तर साल
मकैको खेती र कृष्णलाल,
एक शोषणवाद र एक निर्माणवादको क्रम
यत्तिकैमा आउँछ सतासी साल,
मेरा आँखाका अगाडि एक घटनालाई बोकेर
हुस्सुले ढाकेको बिहान व्यूँझन्नन् कोही
दुई चार जना उठ्छन् आफ्नो साहसलाई बोकेर
तर कन्याइसक्छ हुस्सु घामको तातो नआउँदै
खोरमा पसिसक्छ सिंह आफ्नो शिकार नपाउँदै।

२.
अनि पल्टन्छ यहाँ अर्कै इतिहासको पाना
एक युगलाई फोरेर
उम्लन्छ तरूणको रगत आफ्नै देशको निम्ति
सन्तानब्बे सालको इतिहासलाई कोरेर,
चार शहीदको रगतले मुछिन्छ मेरो देश
तमाम जनताको आँसुमा घोलिएर
तर पनि पग्लन्न ढुंगाको छाती
हाम्रै उद्गा्रमा झोलिएर
सोच्दैन उसले यहाँ शहीदको सपनामा
एकदिन बिजुली चम्कन्छ,
बुझ्दैन उसले यहाँ जनताको आँसुमा
एकदिन मेघ घन्कन्छ,
जुनसुकै घटना घटोस्
त्यसभित्र एक अस्तित्व छाएको हुन्छ,
शहीदले गाएको गीतमा त झन्
एक युगले नै गाएको हुन्छ।

३.
पल्टन्छ अर्कै इतिहासको पाना
सात सालको हुरी लिएर
झन् झन् सल्किन्छ क्रान्तिको राँको
एकै आवाजमा जेलिएर,
यत्तिकैमा ढल्छ एक रूख
यसैमा किचिन्छन् यहाँ हाड चुस्ने कुकुरहरू
मानिसको गन्ध पाएर भाग्छन्
यहाँका दूधचोर बिरालाहरू
अनि मान्छेले आवाद गर्छ यहाँ
देश प्रेमको उद्गा र लिएर
घन्कन्छन् झन् झन् शहीदका गीत
नौला नौला परिवर्तन दिएर।

४.
दुई दिन जमेको पानी अड्दैन यहाँ
खोलिन्छ अर्कै धार लिएर
अनि आउँछ एउटै सत्र सालको दिन
दश वर्षे इतिहासको क्रम दिएर
अड्ने स्थानमै नपुगी टुङ्गिन्छ एउटा कथा
एकाएक पागलको गीत टुङ्गिएझैँ
समयै नपुगी रित्तिन्छ अझ एउटा धून
निस्तेज तन्देरीको जीवन रित्तिएझैँ।

५.
परिवर्तन परिवर्तन मात्र होइन
यसले त निर्माण गर्छ देशका लागि
कथा कथा मात्र होइन
उसले त इतिहास भन्छ सन्तानका लागि
म पनि त एक युगलाई सिँगार्न जन्मेको हुँ नि
चन्द्रसूर्यको छायामनि आफ्नै गीत छरेर
मेरो देशको कणकणमा मिल्न चाहन्छु
सगरमाथाको काखमा आफ्नै पनले हुर्किएका
प्रत्येक चराको गीतगीतमा बोल्न चाहन्छु
म देशकै प्रतिज्ञालाई पूरा गर्न
आफ्नै छाती छोएर प्रतिज्ञा गर्छु
अनि भन्छु- यहाँ ताजा चेतनाको वीज छर्न
नयाँ संसारको निर्माण गर्न
एक युगले घच्घच्याएको बटुवालाई
आफ्नै अशेष यात्राले दौडाइरहेछ
नेपाली इतिहासमा एकएक युगको परिवर्तन
मलाई सत्ताइस सालले बोलाइरहेछ।