गहिराइको मापदण्ड जस्तो छु म तिमीभित्र विस्तार भएर,
म फैलिएको छु त्यही विस्तार जस्तो छु, जो खुम्चिन्छ मात्रै,
बिटुलो भइसकेछन् अचेल हरेक आस्थाका अनुहार
मलाई केही थाहा छैन मेरो स्वतन्त्रताबाहेक, मेरो उपलब्धिको लघुता
युवतीलाई जीउभरि समाउँदै खोसेको सानु म्वाईँ त हो, निस्सारता
उसले छोरो जन्माउञ्जेल, हरेक युगमा म भिजेकै हुँ ।
म त केही पनि भन्न पनि त सक्तिनँ शायद सकिँदैछु धारा नबगेर
व्याख्या गर्छु गहिराइलाई अञ्जुलीभरि बचाएर,
पषाण पग्लिन्छु तात्तिएर विसुवियसको लावा,
आकाश झर्छु सकेसम्म होच्चिएर पिँधसम्म
(जसरी कुनै उच्चाइ खालि छ, होच्याइसमेत खालि छ)
पातहरू शरद् छैनन्, म फूलहरू कसरी चिथोरूँ
बासहरूमा कोलाहल गर्छन् अनेक व्यर्थका कुराहरू—
म सपनाहरू कसरी चिथोरुँ विम्ब तुह्याउँदै गर्भहरूदेखिन्
मैले जोगाएको छैन मलाई आरोपित नगर
तरुनी आँखभित्र गिलासभित्रसम्म पिएर युकलिप्टसको नाङ्गोपन सोच्दै
तरुनी जीउभित्र पानीभित्रसम्म लिएर, रातहरू व्यर्थै परिवेशमा कप्दै
होच्याइको कथा हो यो, न उच्चाइको वर्णन
सानु 'पोर्टफोलियो'- बन्द, सित्तै नजरले चिथोरिएर
एउटा यस्तो स्थिति हो कागजका पन्नाहरू
भत्किरहन्छन् ईँटाका पर्खालहरू, ओर्लिएर उप्किएका सत्ता
(व्यङ्ग्य हो यो सत्ता)
भट्टीमा रातभरि गफ गरेको मैले सुनेको छु,
भेनसको गफ मैले पनि त गरेको हुँ तिमीहरूसित
मानवताको नाङ्गोपनको गफ रोमका सामन्तहरू मांसपेशी रुचाउँथे,
माइकलएञ्जेलोको 'रात' र 'दिन' गफ गरेको हुँ तिमीहरूसित
जिभ्रोमा र्याोल भिजाउँदै सुन्छौ मानिसहरूको ज्वारभाटा
पर्दा लुकेर आँखादेखिन् भन्यौ-
'त्यो त भेडा हो जिजसले काखी चेपेको'
स्याबास ! मेरा साथीहरू हो ! मेरा भेडाहरू हो !
मलाई क्रुसिफाई गर,
सबै किलाहरू !
मेरा कविताहरू सुनेका छौ
सबै कानहरू नैतिकता उम्क्याउँछ ओकल्दै, निल्दै, चपाउँदै यिनमा
काट्कुट पारेर, थुपारेर, भत्काएर; टाँसेर मूर्ति मानिसको
पृथ्वीको त्यो पुरानु हँसाइ, पुरानु मानिस र पुरानु गुफा हुँ,
अर्थात् म त्यही स्वास्नीजस्तो लोग्नेको एक मासु पनि चिन्दिनँ
कति रातहरू सुतिसकेर भिजुञ्जेल ऊसित
मलाई बन्द गर
सबै ढोकाहरू म नुहाउन चाहन्छु, लोग्नेमान्छे नाङ्गो भएर
मलाई फ्याँक सबै मिलेर, हरेक पर्खाल बाहिर
हरेक भित्ता बाहिर
म स्वतन्त्र हुन सकूँ !
फेरि म नुहाउन सकूँ !
अपवित्रता धून सकूँ !