Last modified on 15 अप्रैल 2020, at 11:59

भरोसा / गीता त्रिपाठी

सकिँदोरहेनछ
डोरीविना कुनै हिमाल चढ्न
 
यी चिप्लिरहेका पाइलाहरू
यी फुस्किरहेका हातहरू
यी बिलाइरहेका अक्षरहरू
 
ए! अगाडि जाने आरोही !
सक्छौ तिमी
यो आउने युगका लागि
एउटा बलियो डोरी बाटेर जान ?
 
याद राख
सर्प नहोस् त्यो डोरी
नडसोस् त्यसले
पछ्याउनेहरूलाई !
 
सकिँदोरहेनछ
किलाविना कुनै डोरी अड्काउन
 
ए! डोरी बाटेर जाने आरोही !
सक्छौ तिमी पछ्याउनेहरूका निम्ति
एउटा बलियो किला ठोकेर जान ?
 
याद राख-
छेकबार नबनोस् त्यो किला
नरोकोस् त्यसले
अगाडी जानेहरूलाई !