हिमालमन्तिर
हिउँझैं फुल्ने
हिमाली भेडाच्याङ्ग्राहरू
खर्क र चरनका यात्रामा
निश्चल अबोधताको जिन्दगी बोकेर
दुनियाँका सबभन्दा पवित्र अज्ञानीहरूझैं
बथानहरूमा जन्मन्छन्
बथानहरूमा हुर्कन्छन्
परिचयको साँघुरो क्षेत्रफलभरि
उनीहरू कसैलाई चिन्छन् भने
कि त भेडीगोठका गोठालाहरूलाई चिन्दछन्
कि त भेडीगोठका भोटे कुकुरहरूलाई चिन्दछन्
चिसो - चिसो प्रकृतिमा
नसिलाइएका न्यानान्याना उन र पश्मिना लाएर
उनीहरू गोठालाका 'सुई ! सुई !' सिठीहरूलाई
र भोटे कुकुरका 'ह्वाउ ! ह्वाउ !' भुकाईहरूहरूलाई
विश्वासका गुरुमन्त्र सम्झन्छन्,
प्रत्येक वर्ष भेडाच्याङ्ग्राहरू
विश्वासको महान यात्रा गर्छन्
र हिमाली गोठहरूबाट
ठुला ठुला शहर-बजारका
पक्कीपक्की सडकहरूमा आइपुग्छन्
उनीहरू बुझ्दैनन्
उनीहरू किन हिमालबाट शहरतिर ल्याइन्छन्
उनीहरू बुझ्दैनन्
उनीहरू किन कागजका टुक्राहरूमा बेचिन्छन्
र बथानहरूबाट छुट्याइन्छन्,
अवश्य्य भेडाच्याङ्ग्राहरूलाई
बथानहरूबाट छुट्याइँदा
"भ्याँ ! भ्याँ !" पीडा हुन्छ
अवश्य भेडाच्याङ्ग्राहरूलाई
घाँटीमा खुकुरी रेटिँदा
"प्याँ ! प्याँ !" पीडा हुन्छ
तर,
भेडाच्याङ्ग्राहरूको देशमा
भेडाच्याङ्ग्राहरूलाई जीवनको कुनै अर्थ थाहा हुँदैन
भेडाच्याङ्ग्राहरूको देशमा
भेडाच्याङ्ग्राहरूलाई म्रित्युको अर्थ थाहा हुँदैन |