Last modified on 15 अप्रैल 2020, at 11:59

भोक / गीता त्रिपाठी

उम्रिनै छाडे
काँक्रा-फर्सीहरू
करेसाबारीमा
 
बादल लागेको बिहानीमा
खोतलिरह्यो बीऊहरू
भँगेराले र
छोडाइरह्यो साँझमा
बियाँहरू
मुसाले
 
यसपालि पनि
अङ्कुराएका बीऊहरू
निमोठी-निमोठी खाँदैछन्
रातमा वनबिरालाहरू
 
बूढो लाहुरे
पेन्सिनको सियोले
सिउँदै छ भोक
युवक छोराहरू
सर्कसका घोडाहरूझैँ
हुइँकिरहेछन् जिन्दगीको सडकमा
 
अनौठा कुरा गर्छन्
विद्यार्थीहरू
शिक्षक टुलुटुलु हेरिरहन्छ-
मानौ तिनीहरू अन्तरिक्षमा प्रवेश गरिसके
धर्तीका कुरा गर्न
लाज मान्ने विद्यार्थी
निर्धक्क सुनाउँछ
बायो-केमिष्ट्रिको अन्तरङ्ग प्रेमकथा
 
करेसाबारीमा झरेका
अनौठा फल
अब्दुल कलामहरू
अनुसन्धान गरिरहेछन्
 
अझै पनि
भान्छाघरको बाहिर सपनाहरूको चिहान खोतलेर
रुँदैछिन् उसैगरी
हिरोसिमाकी घाइते वृद्धा ।