कस्तो दिन छ आज यो !
भरे अझ कडा प्रश्न, अझ भोलि कडा अझ
पसि, यस्तै भई हाम्रा दिन चिप्लेर आउँछन्,
मुख ढाकी मुकुण्डोले भानु स्वर्भानु बन्दछन् ।
अवश्य एउटा भोलि बित्नेछ बदलीविना
भन्ने आस गयो हुन्छ हर भोलि घनावन ।
नचेती लोकमा हामी भोलिको भर पर्दछौं,
बिसिदिन्छौं हिजोलाई, आजचाहिं सरासर
भोलि भन्छौं; सबै भोलि हिजो बन्दै बिती बिती
जाँदैछन् ; एउटा भोलि डोली प्रलयको लिई
आइहाली त्यहीं हामीलाई भाग्छ कता ! कता !
उही दिन सबै हाम्रो भोलि बन्दछ बेपता ।
भाग्यमानीहरू आज भन्दछन्, भोलि बन्दछन् ।
अभागी जति छन् आज बिग्रन्छन्, भोलि भन्दछन् ।
तथापि मन यो एकोहोरो वञ्चित भोलिको
अनुहार सधै राम्रो भएको स्वप्न देख्तछ;
संसारमा त्यसैले त अङ्क धेरै छ दीनको,
काल पखिरहेका ती कोटि कोटि अधीनको ।
मुटुको व्यथा, ३.३५८, १९८६