घाममा झुल्काहरू
भर्खर छरिन थालेको बेला – पर्वतहरूमा,
फक्ल्याक्क टुक्रिन्छु आफैंभित्र
अचेल म,
एकाएक एउटा मैजस्तो मान्छे
मबाट निस्किएर
बाटो लाग्छ अर्को फरक दिशातिर,
हुरीको जस्तो उसको आवेगलाई
मैले रोक्नै भ्याउँदिनँ
र हेरिरहन्छु उसको प्रच्छाया
आँखाबाट ओझेल नहुन्जेलसम्म,
मभन्दा धेरै शक्तिशाली ऊ
धेरै आघातहरू हाँसी–हाँसी सहिरहेको हुन्छ,
मभन्दा धेरै कमजोर ऊ
कहिलेकाहीँ भित्रभित्रै खण्डित भइरहेको हुन्छ,
मौन भएर आफैं सल्किरहेको हुन्छ
पग्लिरहेको हुन्छ,
कार्यालयमा
म टेबुलमा घोप्टिएर लेखिरहेको बेला
ऊ चियाबगानमा – सुसेल्दै मिठो धुन
जिस्किरहेको हुन्छ
एक्लै चियाका पातहरूसँग,
मैले जिन्दगीसँगको सम्झौतापत्रमा
हस्ताक्षर गरिरहेको बेला
ऊ आगोले खण्डकाव्य लेखिरहेको हुन्छ
कि हातेमालो गरेर आफ्नी प्रेयसीसँग
निमग्न हेर्दै बगिजाने छालहरू
उभिइरहेको हुन्छ नदीको किनारमा,
मैले टुक्रा–टुक्रा पारेर आफूलाई
बेचिरहेको बेला
ऊ उन्मुक्त – कुनै पिपलको बोटमुनि ढल्केर
गुन्गुनाइरहेको हुन्छ आफ्ना प्रिय गीतहरू !
घामका पाइलाहरू पश्चिम पहाडतिर
ओर्लिसकेपछि – रातमा
ममा एकाकार हुन्छ ऊ,
हामी साट्छौं आ–आफ्ना अनुभूतिहरू
र माया गर्न थाल्छौं एकअर्कालाई
ऊ विलिन हुन्छ मभित्र
कुनै पोखरीमा तप्केको पानीको थोपाजस्तै
र रात–रातभरि साझा सपना देख्न थाल्छौं हामी
मनभित्रको मानिस र म ।