कहिलेकाहीँ मलाई
मृत्यु पनि सङ्गीतजस्तो लाग्छ ।
त्यसबेला जब
आस्थाहरू पराजित हुन बाध्य हुन्छन्
निर्ममतापूर्वक टुक्र्याइन्छन् सपनाहरू
सङ्कल्प निरीह बन्छ
र पाइला–पाइलामा
सम्झौतामा खण्डित हुन्छ जिन्दगी…
नजिकै कतै सुमधुर धुनजस्तो
मृत्यु बज्छ
र हावामा लहराउँछ सबै दुःख
फूलजस्तो कोमल बन्छ उदासी
सारा थकाइहरू, पीडाहरू
सङ्गीतका तालहरू बन्छन्
लय बन्छ ।
नजिकै कतै अनुराग बोकेर
मृत्यु बज्छ
र घामजून सबै अँध्यारो हुन्छ
दृश्यहरू दृश्य हुँदैनन्
आकारहरू आकार हुँदैनन्
तर आभास हुन्छ धुनजस्तो
सङ्गीतजस्तो, मृत्युजस्तो।
ढुकढुकाउँदैमा मात्र बाँचिने हो र ?
कहिलेकाहीँ मलाई
मृत्युबोधको झङ्कारले गहिरोसँग छुन्छ
मृत्यु पनि त्यसबेला सङ्गीतजस्तो लाग्छ ।