Last modified on 5 जुलाई 2017, at 20:23

मृत्यु उनन्साठी / मञ्जुल

सबभन्दा दुर्गन्धित हुन्छ
अक्षरहरुको लास

संसारको कुनै पनि अत्तरले
मेटाउन सक्तैन त्यसको दुर्गन्ध

फतफत कुहेर झर्छ
हरेक भाग
त्यसलाई फेरि कहिल्यै जोड्न सकिँदैन
त्यो थुप्रिँदैथुप्रिँदै
फोहोरको रास बन्छ
त्यसलाई कुनै खाडल खनेर पुर्न सकिँदैन

सबभन्दा दुर्गन्धित हुन्छ
अक्षरहरुको लास

हो, कविका शब्दहरु मरे भने
ती फूलका सुकेका पत्तीजस्तै हुन्छन्
फतफत खस्छन्
तर गन्हाउँदैनन् आफैँ
अर्को दुर्गन्धले नछोएसम्म

दार्शनिकका शब्दहरु पनि
ताडपत्र सुकेजस्तै हुन्छन्
त्यसमा लेख्न सकिन्छ नयाँ शब्दहरु
जीवन्त र सुगन्धित अक्षरहरु
तर ती पनि
अर्को फोहोरले छोए भने गन्हाउँछन्

सबभन्दा फोहोर हुन्छन्
पदलोलुपता
र बेइमानीले ओकलेका शब्दहरु
झुटा शब्दहरु
ती दुर्गन्धित हुन
अर्को कुनै दुर्गन्धको
संसर्ग चाहिँदैन

संसारमा सबभन्दा दुर्गन्धित हुन्छ
अक्षरहरुको लास

यस्तै दुर्गन्धित हरफहरु हुन्छन्
मृत्युलाई बदनाम गर्ने हरफहरु
मृत्यु त
नियालेर हेर्ने हो भने
सुगन्धको पनि सुगन्ध हो ।