जबदेखि समयको एम्बुसमा परेर धराशायी भए
कल्पनाका सुख―समृद्धि
चिन्तनका शान्ति, सद्भाव र सहकाल
त्यसै बेलादेखि म अनिष्ट पर्खन अभ्यस्त भएको छु।
त्यसै दिनदेखि
कैदी विचारका हाहाकार, बन्दी सपनाका चिच्याहट
अनि पाता फर्काइएका रहरहरूको क्रन्दन
दिन–दिन र क्षण–क्षणको सङ्गीत बनेको छ मेरो।
विसङ्गतिको बतासमा
मिसाएर अविश्वासका निश्वासहरू बाँच्नुको नाममा
अभिशप्त झैँ हेरिरहेछु–
अतिशय कष्टको पर्वतारोहणमा बढ्दै गरेका आफन्ती पाइला
‘ए ! नजाऊ पीडासागरमा डुबुल्की मार्न‘
मात्र ओठ चल्मलाउँछन्,
मेरो उपस्थितिमा टिक मार्क लगाउन।
खै कसले उखेलेर लग्यो हाम्रा आशा र आस्थाका बिरुवा?
कसले कसरी लुट्यो हाम्रो निष्ठा र सिद्धान्त ?
कसरी ‘म‘ बन्यो सिङ्गो मान्छे खुम्चिएर ?
कहाँबाट आए हँ―
यत्ति धेरै अवषादका बादल यो बस्तीको आकाशमाथि ?
म यस्तै यस्तै प्रश्न सोध्नमै व्यस्त भएको छु
र, जबदेखि झुन्ड्यायो मान्छेले
मानवता फुकालेर भित्ताको काँटीमा
त्यसै बेलादेखि म अनिष्ट पर्खन अभ्यस्त भएको छु।