Last modified on 8 मई 2017, at 15:20

मेरो गाउँ / राजेश्वर कार्की

शान्त भूगोलको हिमाली फेदमा बसेर
बिहानीको मृदु घामभरि
आफ्नो सौन्दर्य छरिरहेकी नवयौवनाजस्तो
अनि तिनै यौवनाको प्रेमभरि–भरि
प्रथम स्पर्शजस्तो
मेरो गाउँ—
आज, आफन्तहरूबाटै बेचिएर
यौवन लुटिएकी
अनि लुटिएर एड्ससहित फर्केकी
तिनै यौवनाको बेवारिस सपनाजस्तो
मेरो गाउँ—
यतिखेर, मुक्तिका नाममा
आर्यघाटमा मृत्यु कुरिरहेछ

सुनिन्छ—
मेरो गाउँको जस्तो
बेवारिस लासहरू जिम्मा लिन
सहरमा
थुप्रै एन. जी. ओ. हरू खुलेका छन्।