Last modified on 23 फ़रवरी 2022, at 16:22

मेरो पाली / सिद्धिचरण श्रेष्ठ

मभन्दा पहिले कोही आई यसमा गाएथ्यो गान,
तनहूँ बस्ने यौटा बाहुन, उनी भानुभक्त महान ।

तरु, वन, खोला, गिरिको ध्वनिमा गाई गाई रामायन
बालीको घट-घटभित्र भरिदिएथ्यो नारायन ।

गाउन अब यो मेरो पाली उनकै बाटो अगुवाई
नारायन नै नर हो भन्ने चैतन्य नयाँ झल्काई ।

राम र रावण, बुद्ध र शङ्करबिचको भेद छुटयाई
डोऱ्याउनु छ नेपालीको बाटो मैले पहिल्याई ।

युग-युग मिश्रित आर्य, अनार्य, शैल, फाँट सब एक वनाई,
यौटै लयमा, यौटै सुरमा ढाल्नु छ मैले अव गाई ।