तिम्रो
ब्रम्हाण्डभन्दा टाढा......
सौर्यमण्डलभन्दा पनि धेरै टाढा.......
म कुनै सुदुर,
अंधकार,
ढुसी परेको
र अस्तित्वविहीन निर्जन ग्रहमा
तिमीलाई नै सोचिरहेको छु
तिमी
अनि मेरोबीच
यद्यपि
कैयौं प्रकाश-वर्षहरुको राक्षस-दूरी छ
तरैपनि
भावनाका उपग्रहहरुबाट
प्रक्षेपित भइरहेका अनुभूतिहरुले
कति नजीक....... नजीक.... नजीक ल्याइरहेको छ — हामीलाई
सत्ते !
कति नजीक छु — तिम्रो
यद्यपि
तिम्रो सिंगो ब्रम्हाण्डभन्दा टाढा..........
सौर्यमण्डलभन्दा पनि धेरै टाढा..............
कैयौं प्रकाश-बर्षहरुको अन्तरालबाट
म आवाज दिइरहेको छु तिमीलाई
तिमी
र मेरो बीचमा
असंख्यौं ग्रहहरु, उपग्रहहरु
अनि ताराहरु उम्रिरहेका छन्
मैले पन्छाउनै नसकिने गरी !
मैले हटाउनै नमिल्ने गरी !!
अहो !
मीरा !!
म तिमीभन्दा शताब्दीयौंपछिको मान्छे
तिम्रो नृत्यको तल्लीनताबाट
तिम्रो भजनका धूनहरुको सम्मोहनबाट
तिम्रो मधुर प्रेमका आसक्तिहरुबाट
अनि तिमीबाट कति टाढा छु — म
तिमीलाई दिइएका बिषका प्यालाहरु फुटाएर
मौन
अनि चूपचाप छु — म !
तिमीलाई माया गर्ने — म !!
तिमीलाई माया गर्ने — म !!!