Last modified on 15 अप्रैल 2020, at 12:07

रक्तवर्षा / गीता त्रिपाठी

आँखाका महासागरमा
ऊ पर क्षितिजमा
एकहूल राता पालहरू
तैरिरहेछन् जीवनको बाटोमा
 
जीवन रक्तरञ्जित बन्दैजान्छ
रूग्न अभिलाषामा
शून्य!
केवल शून्य!
सबै प्रकाशको अभावमा
 
रगतको महासागर-
यो धर्ती
आकाशको प्रतिबिम्वनमा फ्याँक्दै उठ्छ
रक्ताम्मे छिटाहरू, ओझेलहरू
मैलिँदै जान्छन् सेता ध्वजाहरू
रङ्गाउँदै लान्छन् रक्तबीजहरूले
रक्ताम्मे हुन्छ समय
रक्ताम्मे हुन्छ इतिहास
 
डरलाग्दो अनि भयावह
थामी नसक्नु यो रातो रङ्ग
घोलिनसक्नु यो प्रतिबिम्व
तैरिरहेछन् अनुभूतिका तेलमा
मिसिनै सक्दैनन् मीठो स्वाद भई
छ्यापिन्छन् एकअर्कामा फोहर हिलोझैँ
 
डुबाएर यो भू-खण्डलाई
सीमाहीन अनन्ततासम्म
सुकाएर समभावना र सम्वेदना
फुट्दै जान्छन् रगतका हूल-मूलहरू
 
एकहूल राता पालहरू
तैरिरहेछन् आँखाका महासागरमा।