पाखा पखेरा वा फाँटमा
सिरू, सालिम्बो र बाबियो
अनि सनपाटले बाँधिएका स्वतन्त्रताको कथा के सुनाऊँ ?
खोल्सी, ढाँड र भीरमा अल्झिएका आशा के देखाऊँ ?
हिउँले पुरिएका रहरभित्रका
ढाकर, खर्पन र तोक्माको भार के बोकाऊँ ?
हलो, कोदालो, आरन, धरान र
बूढो गोरुको काँधको पर्याय बनेको
भरियाको ढाडले देश बोकेको कुरा
के सुनाऊँ ?
दुःख लाग्ला, चहर्याउला,
त्यो घाउजस्तै विदीर्ण छ
पसिना जस्तै नूनिलो छ ।
आऊ,
एउटा गुलियो खबर सुनाउँछु
हलुवावेद जस्तो दुईस्वादे राजधानीको,
जहाँ
एउटा बालक
घाँटी र अनुहारभरिका मयलका खातमा
देशको नक्सा बोकेर
ट्याम्पो र मिनीबसका स्टपैपिच्छेका ढयाङ् ढ्याङ्सँगै
बालअधिकार र मौलिक हकको व्याख्या गरिरहेछ,
र खोजिदिइरहेछ गटरमा
सभा आमसभाको खर्च र गोष्ठीका सहभागीहरूलाई भत्ता ।
ऊ भन्छ,
उसकी दिदीले
बम्बईमा नौ हजार मान्छे पछारी र काठमाडौं फर्केर
एड्सजस्तो बास्ना आउने रगत पोखेर मरी,
जुन रगतमध्ये
केही डलरमा मिसाई ककटेल बनाएर पिए
केही पदक र पुरस्कारबीच स्याण्डवीच बनाएर खाए
‘देश चलाएका छौँ’ भन्ने ड्राइभर र
तिनका खलासीहरूले ।
बाँकी अलिकति
पोखिएको छ
फुटपाथ र अरू चेलीका पछ्यौरीतिर
नमेटिने दाग बस्ने गरी ।