Last modified on 12 मई 2017, at 11:53

लय / रमेश सायन

साँझपख चराले चुच्चोमा बोकेर ल्याएको
सपनाको लय
र, तिम्रो यो युग ब्युँझाउने लय
उस्तै लाग्छ

हावाले हल्लाएको पातको लय
पानीमा खसेको जुनको लय
उस्तै लाग्छ अध्यारोमा जुनकिरीले बालेको उज्यालोको लय ।

ब्युँझाएर यो युगको घाम
मझेरी सम्म पुर्याएर एक दैलो उज्यालो
घर सिंगांर्ने तिम्रो लय
एकै लाग्छ संगित बोकेर भर्ने झर्नाको लय ।

चट्यागंले भत्काउन नसक्ने तिम्रो सहासको लयले
पैरोले बगाउन नसक्ने तिम्रो विद्रोहको लयले
भत्काएर गए थुप्रै फलामका बारहरु
लंगडा बने थुप्रै राजकुमारका घोडाहरु

सपनाको क्यानभासभरी भरेर लय
हाँस्न सिकायौ गाउँ देखि सहर सम्म
बाँच्न सिकायौ फेदि देखि टाकुरासम्म
थुप्रै अध्यारामा आफै बलेर उज्यालो छरिरह्यौ,

बिहान विद्यालय जाँदै गरेका नानीहरुका झोलाभरी पठायौ तिम्रै लय

छातिमा फुलेका सुनगाभामा,
ओठका मुस्कानमा,
फैलाएर लय,
हजारौँ, माईलसम्म हावाले उडाइरहनेछ बनाएर कोसेली
तिम्रो स्वतन्त्रताको युग बिउँजाउने लय ।