बस्, एउटै कुरामा छ आनन्द
कन्याइरहनुमा
कविता, कथा र चित्र लेख्ने हातहरुले
फगत आङ कन्याइरहनुमा
विद्रोहमा उचालिने हातहरुले
आफ्नै शरीरका कापहरुमा
चलाइरहनुमा ।
लुतो लागेपछि
हराउँछ सोच र दृष्टि
आफ्नै अगाडि भएको व्यभिचार
व्यभिचार हुँदैन
आफैमाथिको अत्याचार
अत्याचार हुँदैन
मानिस व्यस्त हुन्छ बिर्सेर यावत् कुरा
विचार, स्मृति, बहस
र वरिपरिको दुनियाँको कुरा
बस्, एउटै हुन्छ आनन्दको स्रोत
आफ्नै जीउ कन्याइरहनुमा ।
लुतो लागेपछि केवल लुतो लाग्छ
आमा–बाबु र छरछिमेकको माया लाग्दैन
जब लाग्छ लुतो कसैलाई
बाँदरलाई घाउ लागेजस्तो
ऊ बिर्सन्छ बाल्यकालका स्मृतिहरु
आफ्नो छानामाथि लाग्ने घामको ताप
वा आफ्नी आमाको चौबन्दीमा
मगमगाउने दूधको सुगन्ध
सबै बिर्सन्छ लुतोग्रस्त मानिस
र एउटै कुरामा व्यस्त हुन्छ
आङ कन्याइरहनुमा ।
लुतो एक विचार रहेछ
मानिसलाई विचारशून्य बनाउने
आद्यबिम्बसहितको उत्तर–आधुनिक विचार
रोग र औषधि दुवै बेच्ने
नाफाखोर बजारजस्तो लुतो
जहाँ रहँदैन मानिस मानिस झैं
बस, कन्याइरहन्छ आफ्नो आङ
तृप्त, आनन्दविभोर र बिलकुल एक्लो
मजा लिइरहन्छ
आफ्नो आङ कन्याइरहनुमा ।