Last modified on 5 मई 2016, at 21:54

लेख्नुको कथा / अभि सुवेदी

लेखेर हिड्दो रहेछु आजकल
जहाँ पनि, जहिले पनि
सडक विस्तारित हुनु र नहुनु
मैले भोगेकै नियतिको कथा
शहर कागतका पन्नामा लेख्छु
पल्टाउँदै लेख्छु पाइताला आँखा र
शरीरले जुन सधैं सधैं गुरुत्वाकर्षणका
नयाँ नयाँ पाठहरु बोकेर हिड्छु
सधैं लेख्छु जे पनि
भराङ्ग भएको मन लेख्छु
धुलाम्मे शहरको आकाशमा
छियाछिया भएको मन लेख्छु
आधी खनेर छोडेका सडकमा
धुलाम्य हावामा सुसेलीले लेख्छु
किताबहरुभरि लेख्छु
राजनीतिका हल्ला लेख्छु
अनिर्णयहरु लेख्छु,
हरेक विहान अखबार पस्छन् अक्षर बोकेर
हेर्छु अनि किनाराहरूमा लेख्न थाल्छु
नछोइने, नसकिने, नबुझने र मनलाग्ने र नलाग्ने
पाठहरु लेखिबस्छु, आजकल
यो देश पनि लेख्ने मात्र कुरा गरिबस्छ
संविधान लेख्छ, लेख्तैन
संझौताहरु लेख्छ, लेख्तैन
विदेशमा बसेका दुखिया आफना जनहरुको निम्ति
पत्रहरु लेख्छ, लेख्तैन
नियतिहरु अति नै कष्टले भोगेका
मानिसहरुको कथा यो देशले लेख्छ लेख्तैन
यही लेख्नु र नलेख्नुको महान अन्तर्व्दन्दमा
म भने सधैं लेखिरहन्छु
कहिलेदेखि यस्तो नियतिबस, ईच्छा र मायाँले
अनि लेख्नुबाहेक अरु केही नदेखेर
यो शहरमा म आजकाल
लेख्छु मात्र, जारी छ
पानाहरु भरिन्छन् र मेटिन्छन् तर,
हामी सबै भने यहाँ केही लेखिएला भनेर
पर्खिबसेकै छौं
हेर्नु छ कति लेख्छन् लेख्तैनन्
केही लेखिनेछ लेखिने छैन
नभए अर्को लेख्ने तयारी
पछिनै गरौंला भनेर बसेका छौं।