वसन्तपुरमा
ऊ
वसन्त पर्खिरहेछ ।
भोटोमा फाटेको जिन्दगी
कसेर पटुकीमा फनफनी
झुन्ड्याइरहेछ खुकुरीमा
धारहीन जीवनका रहरहरू ।
छत्री-घुमहरू बिसाएर
बिसाएर चोकजस्ता रित्ता आँखाहरू,
ऊ
नौतल्ले सपनाहरू पर्खिरहेछ ।
उसकै डोकाका माछाहरूझैं
उनिएको छ, ऊ, समयको सिलमा
कम्मरमा खुकुरी भिरेको केटो
बिर्साएर नालापानीको तिर्खा,
वसन्तपुरमा
एक डोको भोक बेच्न
आतुर भएको छ ।