Last modified on 20 अगस्त 2016, at 22:09

विभाजित मृत्यु / दिनेश अधिकारी

देख्नेहरुका लागि
ऊ मर्‍यो र
उसँगै-
उसका जवाफदेही र जिम्मेवारीहरु मरे
असफलता र पीडाहरु मरे
यात्रा र थकानहरु मरे
रोग र औषधिहरु मरे
भोग्नेहरुका लागि भने
ऊ मरेर पनि बाँचिरह्यो
र, विविध रुपमा
उसकै घरमा जन्मँदै रह्यो
कहिले नाबालक छोरोको पेटमा
भोक भएर जन्मियो
कहिले तरुनी छोरीको रहरमा
खण्डहर भएर जन्मियो
कहिले विधवा स्वास्नीको आङमा
कलङ्क भएर जन्मियो
 
मर्नेलाई के थाहा
घरको जुन ढोकाबाट उसको लास निकालियो
ठीक त्यही बेला
उही ढोकाबाट
विनाशको एउटा आँधी
उसको घरभित्र पसिसकेको थियो
र, मर्नेको नाममा
बाँच्नेहरुको जिन्दगी
दनदनी
सर्वत्र बलिरहेको थियो !