8,870 bytes added,
10:54, 23 फ़रवरी 2022 {{KKGlobal}}
{{KKRachna
|रचनाकार=सिद्धिचरण श्रेष्ठ
|अनुवादक=
|संग्रह=
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
नेपाल प्यारो र पवित्र देश सौन्दर्य-धारा वहने अशेष
संगीतको मूल फुटी विशाल छल्कीरहेझै लयवद्ध छाल ।
यो देश हेन्यो जति हुन्छ हेरूँ, वयान लेख्यो जति हुन्छ लेखूँ ।
माया खन्यायो जति झन् खन्याऊँ, सन्मान गायो जति हुन्छ गाऊँ ।
क्यारूँ, म यो देश-निमित्त क्यारूँ । नाचूँ कि गाऊँ कि गला मिलाऊँ
सहर्ष काटी शिर नै चढाऊँ या श्वास जम्मै यसमै मिसाऊँ ।
विस्तार आईकन पूर्व-द्वार खोल्दा उषाले दुलही-मुहार
चुली-चुली धप्प चिराग बाली हुने नयाँ जीवनको बहाली ।
जाज्वल्य त्यो उत्तरतर्फ कस्तो हीरंहिराको दरवारजस्तो
श्रीपेच यो नै पहिरेर भाल नेपाल यो भूतलमा निहाल ।
सुवर्णको थाल लिई सजाई ढाकी खुला दक्षिण-द्वारलाई
ती अन्नपूर्णा हँसिली तराई गर्छिन् कि पूजा यस देशलाई ।
गुराँस-हाँगा करले समाई प्रकाश-भेडा नभमा चराई
हुल्छिन् कि झै पश्चिम गोठभित्र छ सान्ध्य शोभा यसको विचित्र ।
हौदा कसेका घनका विशाल डाँडाहरूमाथि चढी वगाल
यो देशका स्नेह र प्रीति गाढा कुर्छन् मलाई रहँदा म टाढा ।
इन्द्रेणिको टप्प टिपेर शाखा ओढी पछयौरी वन, भीर-पाखा
सुवासको पाउ गमक्क चाली नाच्छन् कि मैं सिर्जन नै उचाली ।
जम्मा गरी जीवनशक्ति सारा सम्पन्नताका अनमोल धारा
गाँस्दै सधै कल्कल गीत-माला वग्छन् यहाँ धेर नदी र नाला ।
घन्काउँदै पर्वत, फाँट, फेदी, नैराश्यको लस्कर दूर खेदी
वियोग, संयोग, बहादुरीका बग्छन् यहाँ गीत थरी-थरीका ।
पाना खुला पर्वत पत्र-पत्र छन् वर्ण झै वृक्ष-लता विचित्र
खोला, चराको ध्वनि गुह्य मन्त्र नेपाल सिंगै बहुमूल्य तन्त्र ।
मर्दा कुनै आखिरको सलामी जाने मिली गाउँघरै मलामी
यो देश नै एक गुठीसमान सम्पूर्ण हामी गुठियार जान ।
विम्झाउने पत्थर, काठ, धात् लामो कलाको तपमा तथास्तु
देखाउने जीवनको महान हाम्रा कलाकारहरू महान ।
अपार संसार-समुद्रमाथि आलोक का स्तम्भसमान राती
गजूर वोकी सुनका प्रदीप्त असंख्य देवालय यत्र-तत्र ।
अध्यात्म-चिन्ता-रसले पवित्र पारेर यो जीवन-बागभित्र
सत्कर्मका बोट लगाउनामा छन् पाठ-पूजा-भजनादि नाना ।
ली पाहना-रूप बखत्-बखत्मा घुम्छन् यहाँ ईश्वर देवतात्मा
भन्ने कुरामा लिइ पूर्ण आस्था चल्ने यहाँ जीवनको व्यवस्था ।
हँसी-खुशीका कति चाडवाड़ मेटीदिने दिक्क, व्यथा, विषाद
आपस्त मिल्ने, रस-प्रीति गाँस्ने रमाइला कालहरू उकास्ने ।
नयाँ-नयाँ जीत अनेक जोड्दै यो देशको इज्जत, मान थप्दै
ज्यामी, सिपाही र किसान सारा छन् आज हाम्रा बलिया सहारा ।
भै कारखानासित एक ज्यान झिकेर उत्पादन थान-थान
यो देश - उत्थाननिमित्त टेवा ज्यामीहरूको दिनरात सेवा ।
अन्यायको गर्न सधैं मनाही छन् वीर योद्धा प्रहरी सिपाही
सेवा, सुरक्षा अनि शान्ति, शान जिम्मा लिने वीर यहाँ जवान ।
किसान हाम्रा पसिना-निधार सिपालु माटोसित गर्न प्यार
केही नमानीकन घाम-पानी विताउँछन् निश्छल जिन्दगानी ।
चट्टानका हाडहरू पगाली ढुङ्गा र मूढा सब दूर फाली
ल्याई पहेंला लटरम्म बाली भर्ने यिनै कैयन पेट खाली ।
को आर्य, मंगोल र को किराँती हामी सबैको अव एक जाति ।
यौटै पिई घाम, हवा र पानी यौटै बनेको रंग, रूप, बानी ।
यो देशको सिर्जनको निमित्त पुर्खाहरूको पसिना र रक्त
हाम्रो वहेको छ नसा-नसामा डोऱ्याउँदै स्वर्ग छने दिशामा ।
भूकम्प, पैहो, असिना र आँधी, पापी रिसाहा अनिकाल, बाढी
सहेर यस्तै कति बिधन हानि हाम्रो बन्यो पूर्वजको कहानी ।
विपत्ति पर्दा पनि हाँसि-हाँसी तयार भै चढ्न समेत फाँसी
बाँचे, बचाए र रमे, रमाए, संघर्षले यो मुलुकै जगाए ।
यो देशमा जागृति भाँति-भाँति उठाउँदैछन् शिर माथि-माथि
पस्ता यवाको अब चूप छैन, चाँजो र पाँजो नमिली हुँदैन ।
भविष्यका स्वप्न बनी उज्याला छुनामुना लाल गुराँस-गाला
नाची, कुदी गैकन पाठशाला मेटीरहेछन् दिन क्रूर काला ।
मान्छे यहाँका दिलदार हुन्छन्, वाँचे पराधीन भई नवाँच्छन्
वतन्त्रतामा जब आँच लाग्छ आगो बनेको यसको कथा छ ।
हामी सबैको बल, बुद्धि, दाउ जम्मा हुने एक पवित्र ठाउँ
त्यो सूर्य-चन्द्राङ्कित लाल झण्डा हाम्रो छ प्यारो अति प्राणभन्दा ।
</poem>