3,090 bytes added,
12 सितम्बर {{KKGlobal}}
{{KKRachna
|रचनाकार=मौन आवाज
|अनुवादक=
|संग्रह=
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
मस्तिष्कमा झार उम्रेपछि
समयको अनुहार उल्टो देखिन्छ
जसरी हिँड्थे हिप्पीहरू लर्थराउँदै शून्य यात्रामा
र, सराप्थे व्यवस्थालाई, राजनीतिलाई, धर्मलाई
र, बर्बाद पार्थे सम्भावनायुक्त जिन्दगी ।
जसरी स्कुलड्रेसमा मुख मैथुन गरिरहेकी छात्रा
जसरी खाँदै पीडायुक्त निकोटिन
घर सबभन्दा असुरक्षित लागेपछि
जसरी हिँडेका छन्, विचारहरू जङ्गल
हृदयमा गएपछि भूकम्प
ढल्दा’रैछन्, सबै सम्पदा
सम्पूर्ण विश्वास र आस्था ।
जसरी उत्पादन बढिरहेछ कण्डमको
गर्भनिरोधक चक्कीहरूको
नीला फिल्महरूको
साना हुँदै गएका पहिरनहरूको
पूर्णविराम यहींनेर स्थगित छ !
यहींनेर मन्दिरमा कोही छैन !
न घरमा मान्छे / न गाउँमा घर / न मुलुकमा सद्भाव
न हृदयमा प्रेम / न मस्तिष्कमा विचार
पोइला हिडेकी आमालाई हेरेर
कसरी निर्माण होला भोलिको पुस्ता ?
ध्वस्त संरचनाको बार्दलीमा बसेर
आशाको कस्तो क्षितिज नियालौंला हामी ?
जसरी भर्खरै उद्घाटित भएको छ, आकाश ।
भर्खरै फाटेको छ धर्ती
अत्तालिँदै दौडेका छन्– चराचर जगत
यहींनेर स्थापित हुन सकेको छैन ईश्वर !
यहींनेर भग्न छ आस्था !
अलिकति वीर्य / अलिकति खकार / अलिकति रगतले
निर्मित छ, अस्तित्व !
उभिए झैं पहाड
एभिएको छ, आडम्बर !
अलिअलि नीलो/कालो/सेतो/रातो
जसरी स्वप्न हो सबै थोक
छ्यासमिस छ, हाम्रो जीवनको दृश्य !
अत्यन्त कोलाहल !
०००
</poem>