7,883 bytes added,
12 सितम्बर {{KKGlobal}}
{{KKRachna
|रचनाकार=महेश मास्के
|अनुवादक=
|संग्रह=भोकका कैदीहरूसँग / महेश मास्के
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
तिमी सुतेका छौ
र लम्पसार तिम्रो बेहोश शरीरको दुबैतिर
लहरै उभिएका छन्
गिटार बोकेका गायकहरू
आवाज बोकेका बक्ताहरू
सिरिञ्ज बोकेका डाक्टरहरू
कलम बोकेका लेखकहरू
हतियार बोकेका सैनिकहरू
रूप उस्तै भए पनि यिनको विचार वेग्लै छ
भेष एउटै भए पनि यिनको भाषा बेग्लै छ
बाजा उही हो तर संगीत वेग्लै छ
उस्तै कलम तर गीत बेग्लै छ
सिरिञ्ज त्यही तर ओखती वेग्लै छ
उही हतियार तर लक्ष्य बेग्लै छ
भएभरको शक्ति जम्मा गरेर उभिएका छन्
ती उस्तै देखिने तर बेग्ला बेग्लै समूहहरू
तिम्रो बेखबर शरीरको दुवैतिर
तिम्रो निद्रा चानचुने छैन
हजारों हजार वर्षदेखि
तिमी यसरी नै निश्चेष्ट छौ
एउटा मान्छेले अर्को मान्छेलाई
शोपण गर्न जान्ने भएदेखि नै
तिमी यसरी नै अलस न तलस भएका छौ
त्यसभन्दा अगाडि
तिमीले पनि एउटा रहर लाग्दो जीवन जिएका थियौ
दिनभरिको परिश्रमपछि
आगोको वरिपरि सामुहिक नृत्यको आनन्द
तिमीले पनि लिने गरेको थियो
प्रकृतिसंगको संघर्षको मोर्चामा
तिम्रो आदिम युग
धेरै अर्थमा
अहिलेको अन्तरिक्ष युगभन्दा असल थियो
तर ती रमाइला दिनहरू
क्रमशः हराउँदै गए
व्यक्तिगत सम्पत्तिको जन्म भइसकेको थियो
र यसको हुर्काइसंगै
एकपछि अर्को अँध्यारा युगहरूले
तिमीलाई अँचेट्न थाले
दासयुगमा तिमी किनियौ, बेचियौ
सामन्ती युगमा तिम्रो काँधमा
कुलिनहरू चढे
पूजीवादी युगमा तिम्रो आफ्नो भन्नु केही रहेन
शोषणको गह्रौ भारले बिचिएर तिमी पनि एक मेशिन नै भयौ
तिम्रो थम मालमा परिवर्तित भयो
र तिम्रा काँधमा चढेकाहरू
त्यसको खरिद-बिक्री गर्न थाले
यसरी बिस्तारै बिस्तारै एउटा जीवित रहरलाग्दो मान्छेबाट तिमी
निर्जीव मेशीनहरूमा परिवर्तित हुँदै गयौ
तर यी सबै कुरा तिमीलाई थाहा छैनन्
या भनौं तिमीलाइ थाहा हुनै दिएनन्
तिमी होशमा भएको भए
यी सब कुरा संभव पनि थिएनन्
हरेक युगमा चेतनाले चिमोट्दा
जब जब तिमी सगबगायौ
तब तब तिनीहरूले
तिमीलाई व्यूँझन नदिन
गीतमा निद्रा बोकेका गायकहरू पठाए
आवाजमा सपना बोकेका बक्ताहरू पठाए
कलममा रक्सी भरेका लेखकहरू पठाए
सिरिञ्जमा अफिम भरेका डाक्टरहरू पठाए
र त्यतिले पनि
तिमीहरूलाई झुक्याउन नसक्दा
हतियारमा दमन बोकेका सैनिकहरू पठाए
यसरी
तिम्रो मनोवललाई टुक्रा टुक्रा पारेर
यातना र मृत्युको त्रासहरू देखाएर
तिमीलाई होशमा हुनुभन्दा बेहोशीमा हुनु नै उचित ठहऱ्याउन
विवश बनाए
यी सबै जालझेल रचेर
तिमीलाई अर्को लामो निद्रामा सुताए
तर आज
समयले काँचुली फेरिसकेको छ
परिस्थितिमा नयाँ पालुवा हरू लागेका छन्
तिमीमाथि भएको अन्याय र अत्याचारको इतिहास
विष्फोटक बारूद झै झर्झराउँदो भएको छ
र तिम्रो बेहोशीलाई सधैं सधैको लागि अन्त्य गर्न
जन्माएको छ यसले
गीतमा चेतना बोकेका गायकहरू
आवाजमा जागरण बोकेका बक्ताहरू
सिरिञ्जमा संजीवनी भरेका डाक्टरहरू
कलममा आक्रोस भरेका लेखकहरू
र यिनीहरूका साथ साथै
यिनीहरुको हातमा हात मिलाउँदै
जन्माएको छ यसले
हतियारमा क्रान्ति बोकेका सैनिकहरू
डटिसकेका छन् आ-आफ्नो ठाउँमा
तिम्रो समर्थनमा उभिएका साथीहरू
र तिब्र संघर्ष मच्चिएको छ
यी उस्तै देखिने तर बेग्ला बेग्लै समूहहरू बीच
तिम्रो बेखवर शरीरको दुबैतिर
उठ जाग ए शोषित वर्ग !
ब्यूझने बेला आइसकेको छ
यो अन्तिम युद्ध हो
नवीन युगले बोलाइ सकेको छ
चुँडाल दाशताका सांग्लाहरू
भत्काऊ शोषणको समस्त जगहरू
तिम्रा स्वतन्त्र हातहरूले एउटा नयाँ संसार निर्माण गर्नुछ
समानता, मानवता र प्रेमको जगमा उभिएको
एउटा नयाँ संसार निर्माण गर्नुछ ।
०००
</poem>