4,297 bytes added,
12 सितम्बर {{KKGlobal}}
{{KKRachna
|रचनाकार=महेश मास्के
|अनुवादक=
|संग्रह=भोकका कैदीहरूसँग / महेश मास्के
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
विमोचनको निम्ति
जब तिमीले पुस्तकलाई स्पर्श गर्यौ
शहीदकी आमा !
के त्यो अनुभूति तिम्रो प्यारो छोराको निधार छोए जस्तो थियो ?
चित्रमा समेटिएको आन्दोलनको इतिहासको एउटा पृष्ठ
शहीदको रगतमा भिजेको एउटा कथा
थर्थराएका तिम्रा हातहरूको त्यो कम्पन,
के तिम्रो स्मृतिमा
हेलिकप्टरको आततायी आवाज ब्यूझेको थियो ?
समारोह भव्य थियो
नेता, प्रणेता, सरकार-प्रमुख र मन्त्रीगणले मन्व सुसज्जित थियो
र त्यहाँ तिमी पनि थियौ
सादा र सपाट
अन्यमनस्क र उदास
तर हठात् जब तिम्रो आकारले मच्च ढाकियो
सर्वमान्यहरू स्कूले केटाकेटी झै तिम्रो काखमा बस्न आए
के तिम्रो अनुहार
मेरो देशको मानचित्र भएको थियो ?
म प्रतीक्षामा थिएँ
तिमीले केही बोल्छौ भनेर
तर शायद जीब्रो त नेताहरूको मात्र हुन्छ
उनीहरूले धेरै कुरा भने
गजिए, उफ्रिए, उचालिए, पछारिए
जनादेश यही हो भनेर ठोकुवा गरे
संविधान कस्तो हुनुपर्छ भनेर हामीलाई बताए
संविधान कस्तो लेखिनु पर्छ भनेर हामीलाई सिकाए
शहीदको बलिदानको स्मरण गर्दै
यो पनि भने
"बुझ्नु भो
अलिकति व्यवहारिक र अलिकति लचकिलो पनि हुनुपर्छ !"
तिमी मौन छौ
यति टाढाबाट म तिम्रो मनको भाव पढ्न सक्तिन
मलाई थाहा छैन
तिमी भित्र गुम्फित भएर बाटो खोजिरहेको
आहत र अशान्त संवेदनाहरूमाथिको बाँध
कहिले भत्कनेछ
तर आमा
अहिले मलाई यति मात्र भन
जब गोलीले क्षतविक्षत तिम्रो छोराको लाश
तिम्रो सम्मुख ल्याइयो
उसको शरीरबाट बगेको रगतको धारले
यो देशको माटोमा कस्तो संविधान लेखेको थियो ?
यो देशको छातीमा कस्तो आदेश कुँदेको थियो ?
०००
<small><i>* यो कविता मानव अधिकार संरक्षण मञ्चद्वारा प्रकाशित 'प्रजातन्त्रको उदय' पुस्तकको विमोचन समारोहको दृश्यबाट अभिप्रेरित भएर लेखिएको हो । पुस्तकको विमोचन कीर्तिपुरमा शहीद हुनु भएका राजमान मालीकी आमाले गर्नु भएको थियो - लेखक ।</i></small>
</poem>