3,380 bytes added,
13 सितम्बर {{KKGlobal}}
{{KKRachna
|रचनाकार=गोपी सापकोटा
|अनुवादक=
|संग्रह=
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
कुनै जमानामा
स्कूल र क्याम्पसमा अङ्ग्रेजी पढाउने
कविता लेख्दै स्वतन्त्रताको जुलुसमा
भट्भटाउँदै हिंड्ने
प्रयोगधर्मी नाटक लेख्दै मन्चन गराउने
बागबजारका गल्लीमा
भुस्याहा कुकुरहरुलाई तर्साउँदै हिंड्ने
गोपी सापकोटा नाम गरेको मान्छे
अचेल कहाँ छ भनेर
कसैले सोध्यो भने
भनिदिनु
गोपी सापकोटा
अचेल बेलायतमा बिर्यानी पकाउँछ ।
देशको भविष्यका लागि गरिएको आन्दोलनमा
देशका भविष्य भनिने
कलिला केटाकेटी चढेको स्कूल बसमा
ढुङ्गा हानिएपछि
आफ्ना छोराछोरी काखी च्यापेर
उ परदेश लागेको हो
पलायन हुनु भनेको त्यस्तै हो
जनतन दुःख सुख गरेर
छोराछोरी पालेको छ
फुर्सद्को दिन उ किचेनमा पस्छ
धमाधम प्याज काट्छ
आफ्ना दुःखका आँसुलाई
प्याजको आँसुमा साट्दै
गोपी सापकोटा
अचेल बेलायतमा बिर्यानी पकाउँछ
त्रिविले दिएका सर्टिफिकेटलाई
नेप्कीन बनाउँछ, र
किचेनमा भिजेका हात पुच्छ
पत्रिकामा छापिएका पुराना पुस्तक समीक्षामा
उब्रेको धनिया पोको पार्छ
सडकको धूलोमा कुनै दिन नाटक गर्ने
गोपी सापकोटा
अचेल बेलायतमा बिरयानी पकाउँछ
देशको माया मा-र्यो भन्नेहरुले भनिरहुन्
बिदेशमा मोज ग-र्यो भन्नेहरुले भनिरहुन्
देशको सम्पत्तिमा रजाई गरेर
करोडौंको गाडी चढ्नेहरु चढिरहुन्
परदेशमा पन्ध्र वर्ष पुरानो टोयोटा
उ घ्यारघ्यार पार्दै चलाउँछ
किचेनमा राता टमाटर मज्जाले काट्छ
र, ‘हु गिभ्स अ ड्याम’ भन्दै
गोपी सापकोटा
अचेल बेलायतमा बिर्यानी पकाउँछ ।
०००
</poem>