Last modified on 31 अगस्त 2020, at 15:32

वैराग्य-वैभव / माधवप्रसाद देवकोटा


चाहिन्न भोग भगवन् ! थाम, नदेऊ, बरु त्यसै भाग
'के निहुँ पाई झम्टौं' भन्छन् यी रोग-नामका बाघ ।
जन्म पनि उच्च कुलमा माग्दिन, खोज्छौ कि त्यै दिन, हो ?
'चकुला कि म ?' भन्नुपर्ने सदैव यो जगजगी किन हो ?
'सम्पत्ति दिन्छु' भनौला, त्यो पनि पर्दैन, यो नगर टण्टा
आँखी हुनेछु सबको, उल्टो किन पो दिलाउँछौ डण्डा ?
इज्जत दिनको लज्जत खोलौला, लिन्न, भो, सत्य
'थाम्न सकोइन' भन्ने हुनेछ यो जगजगी नित्य ।
'बलियो बनाइदिन्छु त' भनी रचौला, म हुन्न, के कर हो ?
'पर्ला कि हार्न ?' भन्ने सदैव किन शत्रुको डर हो ?
'राम्रो बनाइदिन्छु त' भनेर ठूलो निगाह सोच्ता हौ ?
बाट छौ, तरुणी पञ्जामा पार्न खोज्दा हौ ।
'विद्वान् बनाइदिन्छु त भन्ने छौ, भो नि पर्दैन
'वाद-विवाद परेमा हार्छ कि ?' भन्दै निदाउनेछैन ।
'सद्गुण दिन्छु' भनौला, भो, भो पर्दैन, राख, थन्क्याउनु
ईर्ष्यालु दुष्टहरूको बिखालु डाहाविष नपिल्स्याऊ ।
अरु के कुरा ? म जिउ पनि माग्दिन, दिन्छौ र के ? भैगो
केवल यो जिउमा पनि डर जब्बर कालको रहिगो ।
'पारेर लाज मर्नु बाबु ! मलाई त्यसै नफकाऊ
भन्छौ भन्ने कृपालो, 'अभय छ वैराग्य एक' फर्माऊ ।

शारदा, ५१०, माघ १६६६