Last modified on 5 जुलाई 2017, at 15:24

शंखघोष / सविता गौतम दाहाल


हरियालीले सजिएकी वनरानी
निर्मम काटिन्छु आज
भोलि विवश भाँचिन्छु
चूलो फुक्न गरिबको
म भिरको जङ्गल मासिदै जान्छु
थाहा थियो ।

रिसको परिचित पहिरो खसेर
पुरिन्छु निर्दोषघरसंगै
घरका संवेदनशील मान्छेहरू पुरिन्छन्
सारा मानवीय सृष्टि माटोमा मिसिन्छु
थाहा थियो मलाइ ।

कैयौं औंसीपछिको एउटा पूर्णिमा रात
उजेलिन्छु खुशी भएर
र वोल्छु स्वस्फूर्त केही शब्द
अनायास, आँधी जसरी एउटा चम्कीलो चक्कु
मेरो जिब्रोमा चट्याङ बनी खस्छ
चा“दनी रात चुपचाप साउने झरी बन्छु
सायद थाहा थियो मलाई ।

हिउँ परेर कालै बनेका हाँगाहरुमा
देखिन थालेकी हुन्छु बल्लतल्ल कोपिला
मुस्कानका फुल फुल्ने सपनामा
एउटा पागल आएर टप्प टिप्छ
फाल्छ भुईंमा र अगि बढ्छ
न कुनै बच्चाको चकचकले कोपिला छरिन्छु
न पुर्याकईन्छु कुनै प्रयोजन विशेषमा
बन्दै नबनेको एउटा गर्भको फूल तुहिन्छु
यो पनि सायद थाहा थियो मलाई ।

बाँचिरहेछु मरुभूमि
दौडाईरहेछ मृगतृष्णाले
हो नै पानी जस्तो देखाउँछ
पुग्छु उही वालुवैवालुवा ।

स्वतन्त्रता संग्रामका कैंयौं ठेलीहरु पल्टाएर
लखतरान एउटा पाठक
उठ्छु जुरुक्क र गर्छु विद्रोहको शंखघोष
यो पटक्कै थाहा थिएन मलाई ।