Last modified on 23 जून 2020, at 14:17

शब्दहरू / रमेश क्षितिज


शब्दहरू हतियार हुन्
नचलाऊ मनपरि,

ताँदोबाट छुटिसकेको तिखो वाणजस्तो
जब छुट्छ ओठबाट शब्द
निर्मम भएर रोपिन्छ सिधै–मर्मस्थलमा,
वर्षौंसम्म बिझाइरहन्छ
दुखिरहन्छ
जति झिक्न खोज
कुनै सिसाको गोलीजस्तो गढ्छ
झन् भित्र–भित्र,

शब्दहरू आगो हुन्, नजिस्क !
एउटा सानो झिल्कोले
डढाइदिन सक्छ
वर्षौंको मेहनतले ठड्याएको घर,
 
जलिरहेको प्रणयका पाण्डुलिपि
अपदस्त स्वप्न–सत्ता
र लप्काहरू जो देखिन्छन् पीडाका
विकल्प हुँदैन
बेहोस आँखाले हेर्नुसिवाय

बरु, शब्दहरू नानीहरू हुन्
खेल तिनका बालक्रिडाहरूसँग
सुनाऊ कुनै दन्त्यकथा,
तिनका कलिला आँखामा
सुखद भविष्य हेरेर रमाऊ
र अँगालो हाल
कसरी पछ्याउँछन् तिनीहरू आफन्त सम्झेर,

अहिले
म हेर्दैछु शब्दालयको झ्यालबाट,

केही शब्दहरू
ओहोरदोहार गरिरहेछन् सडकमा
शब्दको ढाड टेकेर केही शब्दहरू
उक्लिरहेछन् भर्‍याङ
व्यस्त बजारमा क्रय–विक्रय चल्दैछ
शब्दहरूको,

शब्दहरू
तिम्रा सम्पत्ति हुन्, सम्हाल  !