Last modified on 5 जुलाई 2017, at 16:10

शुन्य / सविता गौतम दाहाल


हिजोसम्मका सारा
असफलताका पानीझारहरु पन्साएर
म शुन्य, शुन्यबाट शुरु हुनु छ
सबैले उत्तम देखेपनि
यो मध्यमले शुन्यलाई बुझेको छ
शुन्यलाइ कैयौ अंकले गुनेको छ
गणितको उदगम सूर्यको आकारमा ।

म शुन्य सधै सबैसंग
लुट्दा नलुटीने नहनेसंग सधै हुन्छु
हुनेले मलाइ थप्दै जान्छ
अल्छीले मलाइ एक एक गदै गुमाउदै जान्छ
साहसीले थोपा थोपा मलाई समेटी नदी बनाउछ ।

थोपामा म, गृहिणीको खोपामा लुकाइएको म
ब्रह्माण्डको आदी र अन्त मेरो वरिपरि
म शुन्य सबै मेरो अधिपछि
म सबैको साथ, आफु सधैं अनाथ
म शुन्य, सबैले देख्छन् नाथ
लेख्छन् मेरो गाथ ।

म शुन्यबाट शुरु ,शुन्यमा अन्त
जन्म अगि शुन्य, शुन्यनै मृत्यु पर्यन्त ।