Last modified on 20 मई 2017, at 00:06

श्रीपेच / लक्ष्मीप्रसाद देवकोटा

क.
यो राजा,
जसमा हामी खण्ड, खण्ड सब जोहिई बन्छौं एक,
हामी अनगिन जराहरुको एउटा बोटको पुष्प उदेक,
जसका छत्र विशाल बनाउन हामी बन्यौं डाँडी, डाँडी,
खाल्डा, डाँडा, लेक !
यो हाम्रो हो सगरमाथा,
आदि ज्योतिका वाचाल गाथा,
नेपाली यो आकाशभरिका ताराहरुले
गरिंदो किरणले अभिषेक !

ख.
यो मुटु हाम्रो,
चल्ला जबतक, चलुँला, चलुँला चलुँला निःशङ्क !
कुन उकाला, काँडा, वनमा चलुँला ?
भन, गलुँला ?
यसका हामी कर्मचारी, अवयव, अङ्ग, शरीर !
मानवकृत सजीव हामी नेपालीको राष्ट्रप्रतीक !
नेपाली नै ननिभी कहिल्यै, निभ्न नसक्ने निभ्न नसक्ने,
हे भूमण्डल ! चिनू यो प्रदीप !

ग.
त्यो हो झार पशुको जो यसको पाउ चढ्दैन,
त्यो भुल्का हो जुन आँखामा महत्व यसको
चढ्दैन !

घ.
एक गीतले रच्छौ संसार, आफ्नो संसार नेपाली ।
गीत त्यसको गेडा यही हो,
लय यही हो, ताल यही हो !
हामी फेला पार मुटुमा,
ए एक कोटी ! एक कोटी ! !

ङ.
अतीतसँग भविष्यको के विच्छेदनले बन्दछ जीवन ?
हे हाँडी हो ! फुटौला !
हे भाँडा हो ! टुटौला
आफूलाई नसम्झे सबले हामी स्वदेशी माटो,
हामी स्वदेशी माटो !

च.
मूर्ख नाकमा चाउरी पर्लान् ।
पर्लान् मुजा,
तर, ए धीमान् ! ए नेपाली !
कविको दिलको आँखा भरीभर
सच्चाइ रहे,
सम्झे यति, यहि हो,
नेपाल राष्ट्रको जीवन ध्वजा !

छ.
सात गङ्गा हो अमृत छर्क !
नेपाली हो हजार दिशातिर
हजार सडकमा चल्दा, फिर्दा,
भित्री नजरले यसतिर फर्क !
यो हामी हो !
हामी यो !

ज.
यसमा हामी,
हामीमा यो
कोटी एक
एक कोटी !