Last modified on 9 मई 2017, at 14:57

सङ्केत / सञ्जय बान्तवा

निस्सन्देह उभिएको छु
यो एउटा टापुमा
आफ्नो ओभानो शिर जोगाएर ।

ठीक पैतालामुनिबाट डुबाउग्रस्त विस्तार फैलिन्छ
जहाँ–जहाँ पानी बग्दछ ।
पानी बोकेर आएको एक पाइला अभावमाथि
उभ्दछु म
यो टापुमा ।

यो अग्लाइमा
मेरो जीवितता निर्जन बन्दछ ।
आफू अझ अग्लो बन्दै बाँच्न खोज्दाको जङ्गलभित्र
भेट्दछु म सुनसानको बाघ
भीषण भयको अजिँगर ।

यो सभ्यताको
महादेशमा ।

अवश्य उभिएको छु
यी खुट्टामा
आफ्नो काँधमाथि आफूलाई चढाएर ।

हेर्नलाई
यो महाजङ्गलभित्र,
कतै बत्तीको सङ्केत कतैतिर छ कि
कुनै अर्को बस्तीमा ।