चिट्ठीभित्रका विवश अक्षरले
भिजाइल्याउने सन्देशहरू
थिएनन् सुख्खा,
थिएनन् कागजका खामझैँ सुकिला ।
बोकेर खामबन्दी सम्झनाहरू
सन्देशघरको एकलास भित्तामा हुन्थ्यो
कहिल्यै नआइपुगेको हुलाकी समयको प्रतिक्षा
आमाको कोखजस्तो स्निग्ध कहाँ थिए र ती प्रतिक्षणहरू
खाटाजस्तो मात्र देखिएको भित्री आलो घाउमा
चलाइरहन्थ्यो अविचारको चक्कु कसैले
कोही छर्किरहन्थ्यो
असहमतिमा नूनचूक ...शब्दहरू
खबरभित्रका बेखबरहरू
चुहिरहन्थे रात झैँ
अवसादका तिर्खाहरूमा ।
रुँदै निदाउने बार्दलीहरू
रुँदै ब्यूँझने कौसी र दलानहरू
सन्देशगृहबाट निसन्देह बेँपत्ताजस्तै
जरुरी खबरसँग बेखर त्यो समय
अर्थहरूको आघात बोकेर
अर्द्धहोशमै छन् वा नदाइसके
वा अझै छन् असम्बद्ध भावहरूका खोजीमा
खामभित्रका ती बेपत्ता अक्षरहरू ?