Last modified on 28 मई 2017, at 19:42

समाधि / खुमनारायण पौडेल

समाधिको उत्कर्षमा
पराजित हुनेछन् तिम्रा इतर इन्द्रियहरू
जीवत रहनेछ तिम्रो शरीरमा
एउटैमात्र इन्द्रिय
स्पर्श र यसको अराजक सत्ता
कानहरू सुन्न छाड्नेछन्
आँखाहरू देख्न छाड्नेछन्
जिब्रो लाटिएर मृतझैँ हुनेछ
गन्ध छट्याउन असमर्थ हुनेछौ तिमी
समाधिको उत्कर्षमा
तिम्रालागि प्यारो हुनेछ
केवल स्पर्श र छालाको घर्षण
 त्यतिबेला केही पनि बाँकी रहने छैन
त्यो विराट महाशून्यतामा
तिमीले केही पनि सोच्न सक्ने छैनौ
त्यो मायावी सुरुङभित्र
तिमी एउटा हिंस्रक पशुझैँ
बेतोडले दौडिरहेको हुनेछौ
समाधिको उत्कर्षमा
तानाशाहझैँ हुनेछौ तिमी
अराजक र विवेकहीन
तिमलिे वशमा पार्न खोज्नेछौ अर्को शरीर
तर दुर्भाग्य
तिमी सफल हुने छैनौँ
अग्निमय चरम विष्फोटपछि
रूपान्तरित हुनेछौ तिमी
बरफको टुक्रामा
क्लान्त तर विजयी
निद्रालस तिम्रो देह
पल्टिनेछ मुढोझैँ
झर्नेछ तिम्रो श्वासको लय
र गर्नेछ अर्को समाधिका लागि
अजस्र उर्जाको सञ्चय ।