Last modified on 25 अगस्त 2024, at 20:06

सम्बन्धन / गीता त्रिपाठी

 
अगम छन्,
अनन्त सृष्टिका परिकल्पनाहरू
अपरिभाषित छन्,
सिर्जनाका अपरिमेय परिमिलनहरू ।

कैयन् विपर्यासहरूको आश्चर्य
आबद्धताहरूको अनुक्रम
आकारभित्रै छन् अनेक निराकारहरू !

सञ्चित शौर्यहरूको शाश्वत सन्तुलन
नियमितताहरूको, अनियमितता
आकर्षणहरूको अतिरिक्त अन्वेषण
चलिरहेको यो निर्वैयक्तिक-वैयक्तिकता

प्रेम नै रहेछ यावत सम्बन्धहरूको निचोड
यद्यपि
भक्ति बनेपछि मात्र पूर्ण हुँदोरहेछ प्रेम।