Last modified on 28 मई 2017, at 10:20

सिमानाको नेपाली / विक्रम सुब्बा


उसकै पार्टीको सिद्धान्तजस्तो
खिया लागेको ईण्डियन ताल्चा खोल्यो
उसकै गुटको दिमागजस्तो
कलकत्तातिर निर्मित
मक्किएको पुरानो ट्यांका उघार्योय
उसकै अव्यवस्थित चिन्तनजस्ता
घरेलु सामानहरू उल्टायो, पल्टायो
छाम्यो, हेर्योा, खोज्यो
तर कतै भेटेन ।
सिरानी हालेको रामायणको चेपचापमा
नागरिकता र झै-झगडाको कागजातका पोकोमा
घरीघरी ऐनाझैँ हेर्ने गरेको गीता-ग्रन्थको खोलभित्र
दातृसँस्थाले गोष्ठीमा दिएको ब्यागभित्र
छोरी बिहे गर्न सर्त राखेपछि
ससुरालीबाट पाएको दराजको लकरभित्र
भ्रमणभत्ताले किनेको ज्याकेटको भित्री गोजीभित्र
कहीँ पनि नभेटेपछि
सुस्ताजस्तै लामो सास फेरेर ऊ सुस्तायो
र भन्यो – “कहिले हराउँछ…कहिले भेटिन्छ
यसपल्ट फेरि कुन छिमेकीले कता घुसार्यो?!”
बाजे-बराजुको पालादेखि आफ्नो भन्दै आएको
उसको वंशजको नाता लाग्ने जमीनको सिमाना
यसपल्ट फेरि हरायो
जहाँ उसका घर, गोठहरू उभिएकाछन्
त्यो जमीनका अंग प्रत्यंग अचेल
कसको विस्तारित चारकिल्लाभित्र परेका छन् ?