सुखदुःख मिसिएको विगत छ मेरो
जान्दिनँ म अब कस्तो आगत छ मेरो
भेट्न सक्छौ भने कतै नदुखेको ठाउँ
चोट दिन चाहनेलाई स्वागत छ मेरो
प्रेममा डुब्नलाई कसरी सम्भव होला
दुःख, पीडा, चोटहरूको पर्वत छ मेरो
जाल, झेल, फटाइँ गर्नु राम्रो हैन लाग्छ
ऊ चाहिँ भन्छ, यो बुझाइ गलत छ मेरो
घरीघरी बाटो थुनी नधमक्याऊ मलाई
आफ्नै बाटो बनाउने ल्याकत छ मेरो
मेरो मौनतालाई कमजोरी नठान, सानु !
तँलाई के थाहा केके गर्ने तागत छ मेरो