Last modified on 31 अगस्त 2020, at 15:35

सूर्यघाटमा / युद्धप्रसाद मिश्र




सिम्सिम् पानि परी चिसो वन थियो चिप्ला थिए पत्थर
कस्को ताकत हा दुखीबिन यहाँ सक्न थियो चल्न र ?
मेरो भाग्य मलाइ भन्छ नडरा ते एक मेरो प्रिय
मेरो स्वगिक लक्ष्यको तल थियो यौटा ठूलो पत्थर ।


ए हांगा लहरा बुटा सुमन हो, हा हा डरायो किन ?
आएको म त छैन वानरसरी तोडेर सातो लिन
जान्छू आड लिदै लिंदै तल बुझ्यौ पक्रन्छु लौ जे भन
मेरो जीवनको मलाइ छ मजा प्यारो छ यो यौवन ।


कुन्चामहीं तरुबाट मस्त चिडिया कोकीलको यो ध्वनी
आई लाग्दछ एक एक मनमा हा तीरजस्तै बनी
कस्को माग छ तीरतुल्य स्वरको यो चित्तको चाखमा
कस्ले खोतलिदिन्छ झल्ल मनको भङयो भने राखमा ?


यौटा जीर्ण छ पाटितुल्य पथको यो जीवनी हे कवि
नाशी नाश हुनेछ के र यसमा नाशिन्छ आफै पनि
यस्तो तर्क परै रहोस अहिले यौटा र द्वीटा गरी
भागे हेरन वृक्षदेखि चिडिया सुन्दर पखेटा छरी ।


पाहा यो तनबाट त्यो तनगहाँ जानू छ मैले गनी
यो के मानस-दर्द हर्न उठने रोमाञ्च या सन्सनी ?
 मेरो जन्मनु मर्न शीतल उषा सन्ध्या हुनझें न हो
मैले लेटनुसम्म निर्जनमहाँ लेटीदिए भैगयो ।
 

दुङ्गा सौनक आदि भक्तहरु छन् विधामको बालुवा
खोला गान गरी चली छलछली सारा हरा पालवा
नाचेका चिडिया पना गिरिमही वारी र पारी गरी
कैले मारुत मन्द मन्द बहने कैले भने बेसरी ।


सम्झन्छु जगलाइ एक सपना सम्झीन ता सम्झिन
भोली हुन्छ हुँदैन यो पनि म क्यै कोने कुरा जान्दिनँ
मेरो उठ्दछ भित्र साहस ठुलो मर्ने छ साँचै भनी
प्यारो मृत्यु छ साथ स्वर्गिक संगी (भैगो कुरा यो पनी)।


नौलो स्थान छ गान नूतन सदा नौला अनेकौं चरा
जत्ती चाह पिऊँ अतृप्त मन यो नौलो सधैको धरा
लत्रेको जलसम्म दीर्घ फुलको माला बनी मोहन
गुञ्जका भमरा लता भुमरिमा सम्पन्न मेरो मन ।

शारदा, ५।३, आषाढ १९६६