Last modified on 23 जून 2020, at 15:40

हतियार / रमेश क्षितिज


घरअगाडिको खाली चौरमा खेल्दै थिए नानीहरू
‘उनीहरू’ आएर मिसिए त्यो समूहमा

एकैछिनपछि नानीहरूका हातमा थियो बन्दुक
र कसै–कसैका हातमा टल्किरहेथ्यो धारिलो खुकुरी

कोही स्कुल, कोही पसल वा दिनभरिको अफिस
र खेत–खलियान हुँदै आ–आफ्नो कामबाट
आमाबाबुहरू फर्के साँझमा
खोस्न खोजे हतियार, नानीहरूले मानेनन्
फकाएर दिन खोजे रङ्गीन पुस्तक र खेलौनाहरू
केही सीप लागेन !

हतियारका खेलौनामा बानी परिसकेका सन्ततिहरूको
अर्को हतियार आँसु र धम्कीसमेत
निरुपाय हेर्दै थिए अभिभावकहरू

नानीहरू हाम्रो उज्यालो भविष्य हुन्
र उनीहरूको हातमा टल्किरहेछ घातक हतियार !