Last modified on 23 जून 2020, at 14:18

हराएको बुद्ध / रमेश क्षितिज


रात सुत्छ बुद्धका आँखाहरूलाई सिरानी हालेर
सडकमा, फैलिँदै जान्छ रातको गहिरो निद्रा
एक्कासि झ्याप्प प्रकाश हराउँछ
अनिदा दृष्टिहरूमा आहत दुर्घटना भएर,

बिजुलीका खम्बाहरूबाट
अँध्यारो कालो समुद्र बग्छ
र डुब्छन् त्यसमा स्थिर रूखहरू
चिप्लिरहेका मोटरहरू
मान्छेहरू र सहरका गगनचुम्बी महलहरू,
जाग्राम बस्न थाल्छन् फूलबिनाका मालीहरू

कोलाहलको थपडी अनवरत बजाएर
बाटोमा पत्रिका बेच्ने ठिटो कराउँदै हिँड्छ
लौ ! मध्यरातमा बुद्धका आँखाहरू हराए
बुद्धको आवाज हरायो सहरबाट
बुद्धको स्वरूप हरायो
लौ ! बुद्ध बेपत्ता, बुद्ध बेपत्ता भीडबाट !

अमूर्त हुन थाल्छ कविताभन्दा मान्छे
आफूबाहेक कसैलाई बुझ्न सकिन्न !

स्याल रुन्छ देशभक्तिको समाधिमाथि
र गरिबहरूको आलो रगतको टाटै टाटामाथि भएर
चिप्लिँदै राँके जुलुस हिँड्छ,

कतै डढेको गन्ध नमिठो !
कतै छिनालिएका अंगप्रत्यंगहरू !
र पसिनाले भिजेका कपडाहरू

साइरनहरू बजिरहन्छन् र मान्छेको दिनचर्यामा
संकटकालीन घोषणा हुन्छ
हतियारबद्ध सिपाहीहरू सिटी बजाएर
बन्दुक पड्काएर बुद्धको पिछा गर्छन्,

बुद्ध भेटिँदैन !
मान्छेहरू बुद्धका आँखाहरू भेटेजस्तो गर्छन् स्वयम्भुमा
खुट्टा भेटेजस्तो गर्छन् लुम्बिनीमा
अपुष्ट हल्ला चल्छ सहरमा – पक्राउ गरियो रे
बुद्धलाई गयामा
कसैले बैंककमा, कसैले जापानमा, कसैले जेनेभामा  !

साधुको नचिनिने भेषमा कुनै कुटीतिर पनि भनियो
अझ भनियो – टिक्न नसकेर कतै
कुटनीतिक शरण लियो रे बुद्धले स्विजरल्यान्डमा,
 मान्छेहरू रित्तै फर्किन्छन्
मलामीजस्तो अनुहार लिएर
बुद्ध भने – प्रत्यारोपण गरेर आफ्ना आँखाहरू
स–साना राहुलहरूमाथि
आफूलाई खोज्नेहरूकै घरको छानोमाथि

“खोइ ! यिनीहरूले मलाई
आफ्नै घरमा त खोज्न सकेनन् !!”