सम्झनाका प्रदेशबाट
माया र यादका सगुन बोकेर
आउँदैनन् आजकल सानुमायाहरू
सुनिन्छ बारुदसँग खेल्न अभ्यस्त भएका छन्
गुराँस टिप्ने हातहरू।
रगतका टाटाहरू फक्रेका
मसिना धँगेरीफूलहरूमा
देखिँदैनन् भँमराका झुन्डहरू
झुसिल्किराहरू आजकल उत्सव मनाउँछन्
वनहरूमा/मनहरूमा।
विस्थापित रहरहरूको एउटा जुलुस
पुग्नै सकेन मान्छेको बस्तीसम्म
एउटा निरपराध छातीले निल्यो बारुद
भावशून्य आँखाहरू हेरिरहेछन् चौबाटोबिच
क्षतविक्षत लाश मानवताको।
मान्छे बोल्दैन आजकल
(मान्छे भए पो बोलोस् !)
केवल सुनिन्छन् आर्तआहतहरू
व्यथित सुस्केराहरू
रोदन र क्रन्दनहरू
सन्त्रास बोकेका बैँसहरू
फक्रन नपाउँदै बिलाउँछन् शून्यमा
एउटा करुण रसको उत्कर्ष।
सक्छौ भने देखाऊ
तिम्रो मनको क्षितिज उघारेर
तिमीभित्रको मान्छे
हाम्रो के कुरा गर्छौ
हामी त मान्छेका कविता लेख्दालेख्दै
आफैँ मान्छे हुन नसकेर (सायद) कवि भएका छौँ।
गर, गुराँस टिप्ने हातहरूमा बारुद थमाएर
जति झुसिल्किराको खेती गर्छौ गर
निरपराध छातीहरू छेडेर
कतिसम्म मेट्न सक्छौ मानवता मेट
हामी त प्रतिबद्ध भएका छौँ मान्छेका कविता लेख्न
मान्छेका लागि हामी
रौद्र रसका कविता पनि लेख्न सक्छौँ
बीभत्स र भयानक रसका कविता पनि लेख्न सक्छौँ।